काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नागरिक निराशा र आत्मदाहका घटनासँग जोडिएको प्रधानमन्त्री वालेन्द्र शाहको पुरानो अभिव्यक्ति प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।
मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउने क्रममा पुनले २०७९ सालमा व्यवसायी प्रेम आचार्यले गरेको आत्मदाहपछि शाहले सार्वजनिक गरेको धारणा संसदमा उल्लेख गरेका हुन् ।
आचार्यले २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह गरेका थिए । त्यसबेला शाह काठमाडौँ महानगरपालिकाका प्रमुख थिए । उक्त घटनापछि उनले सामाजिक सञ्जालमार्फत नागरिकको निराशासँग राज्यका नीति र कार्यशैली जोडिएको धारणा सार्वजनिक गरेका थिए ।
शाहले त्यतिबेला एक नागरिकले आफ्नो जीवनमा देखेको प्रगति हासिल गर्न निरन्तर प्रयास गर्ने, आफूले भोगेका समस्या र भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै अन्ततः संसद् भवनअगाडि आत्मदाहसम्म पुग्ने अवस्था आउनु राज्य व्यवस्थासँग सम्बन्धित गम्भीर विषय भएको उल्लेख गरेका थिए । उनले यस्तो अवस्थालाई राज्यको कमजोरी र असफलताको संकेतका रूपमा व्याख्या गरेका थिए ।
संसदमा पुनले अहिले पनि उक्त धारणा कायम छ कि छैन भन्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरेका छन् ।
यसैबीच, मुगुका गणेश नेपालीले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेको घटनाले पनि संसद्मा बहस चर्किएको छ । त्रिपुरेश्वरस्थित विभाग परिसरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका नेपालीको शरीर करिब ५५ प्रतिशत जलेको थियो । उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
भक्तपुरमा श्रीमती र छोरीसँग बस्दै आएका नेपाली राइड सेयरिङ सेवामा आबद्ध थिए । आफूले पार्क गरेको मोटरसाइकल महानगर प्रहरीले ह्विल लक गरी नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
घटनापछि विभिन्न विपक्षी दलका सांसदहरूले समेत सरकारको ध्यानाकर्षण गराउँदै नागरिकमा बढ्दै गएको असन्तुष्टि, प्रशासनिक व्यवहार र राज्य संयन्त्रको संवेदनशीलताबारे समीक्षा गर्न माग गरेका छन् ।







