काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा राख्दै आएको फुटपाथ व्यापार पछिल्ला दिनमा पुनः विस्तार हुन थालेको छ। नगर प्रहरीको सडक उपस्थितिमा कमी आएपछि न्युरोनलगायतका व्यस्त क्षेत्रका पैदल मार्गमा व्यापारीले पसल राख्ने क्रम बढेको देखिएको हो।
केही समय अघिसम्म महानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउन नियमित रूपमा नगर प्रहरी परिचालन गर्दै आएको थियो। महानगरले पैदल यात्रुका लागि छुट्याइएको स्थानमा व्यापार गर्न रोक लगाउँदै निश्चित समय र व्यवस्थाअनुसार मात्रै गतिविधि सञ्चालन गर्न निर्देशन दिएको थियो।
तर आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि नगर प्रहरीको नियमित सडक गस्ती प्रभावित भएको जनाइएको छ। सुरक्षा चुनौती बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केही समयका लागि सडक ड्युटीमा परिचालन कम गरिएको जनाइएको छ।
नगर प्रहरीको सक्रियता घटेसँगै न्युरोनसहित काठमाडौँका विभिन्न सार्वजनिक स्थानका फुटपाथमा पुनः व्यापारिक गतिविधि बढ्न थालेको छ। यससँगै सडक क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या पनि देखिन थालेको छ।







