काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार संस्थाका कार्यालय प्रवेशद्वारमा सवारी साधन राखी अवरोध सिर्जना गरिएको घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिता लोकतान्त्रिक व्यवस्थाको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षणप्रति पार्टी प्रतिबद्ध रहेको जनाइएको छ।
रास्वपाले सञ्चारगृह तथा सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने वा उनीहरूको नियमित कार्यसम्पादनमा अवरोध पुर्याउने उद्देश्यले गरिने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रता विपरीत भएको ठहर गरेको छ।
विज्ञप्तिमा घटनाको तत्काल, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरी सञ्चार संस्थाको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ। साथै, घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ।
रास्वपाले विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने मौलिक अधिकारको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै कुनै पनि बहानामा सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने वा सञ्चार क्षेत्रलाई त्रसित बनाउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
पार्टीले सञ्चारकर्मीलाई कुनै पनि प्रकारको दबाब वा त्रासबाट प्रभावित नभई सत्य तथ्यमा आधारित व्यावसायिक पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षाका पक्षमा आफ्नो समर्थन कायम रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।








