काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास तथा उद्यमी–व्यवसायीका कार्यस्थल अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले उक्त घटनालाई गम्भीर रूपमा लिएर यसको उद्देश्य र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनले घटनाले दिन खोजेको सन्देशबारे स्पष्ट हुन आवश्यक रहेको उल्लेख गरेका छन्।
भट्टराईले यदि घटनामा सरकार वा राज्य पक्षको संलग्नता पुष्टि भए त्यसलाई लोकतान्त्रिक व्यवस्थामाथिको गम्भीर आघातका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। त्यस्तो अवस्था आए सबै राजनीतिक दल र नागरिक समाज एकजुट भएर लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा उभिनुपर्ने उनको भनाइ छ।
त्यस्तै, घटनाको उद्देश्य वर्तमान सरकारलाई विवादमा तान्ने, राजनीतिक दलहरूबीच अविश्वास बढाउने वा अस्थिरता सिर्जना गर्ने कुनै समूहको योजनाबद्ध प्रयास भएको पुष्टि भए सरकार, राजनीतिक दल र नागरिक समाज मिलेर त्यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्ने उनले बताएका छन्।
भट्टराईले मुलुक लोकतान्त्रिक स्थायित्व, सुशासन र आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने अवस्थामा पुनः राजनीतिक तनाव र अस्थिरताको वातावरण सिर्जना हुनु लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता तथा नागरिक हितका दृष्टिले सकारात्मक संकेत नभएको उल्लेख गरेका छन्।
उनले सबै पक्षलाई जिम्मेवार र संयमित हुन आग्रह गर्दै राज्य संयन्त्रले घटनाको यथार्थ छिटो सार्वजनिक गरी नागरिकमा देखिएको अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।







