काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीचको दूरी घटाउन प्रत्यक्ष समन्वय गर्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएकी छन्।
सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा सहभागी हुँदै सांसद राणाले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई नीतिगत तहसम्म सहज रूपमा पुर्याउन संस्थागत संयन्त्र निर्माण गर्नुपर्ने धारणा राखिन्।
उनले प्रधानमन्त्रीको सचिवालय र निजी क्षेत्रबीच नियमित संवाद तथा सहकार्य सुनिश्चित गर्ने उद्देश्यले छुट्टै कार्यदल वा समन्वय समूह गठन गर्नुपर्नेमा जोड दिइन्।
सांसद राणाले नेपालको निजी क्षेत्रको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उद्योग तथा उत्पादन विस्तारको केन्द्र बन्नुपर्ने क्षेत्र पछिल्लो समय पर्याप्त उत्पादनभन्दा जनशक्ति तालिम दिने थलोका रूपमा सीमित हुँदै गएको टिप्पणी गरिन्।
उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्।







