काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट बेपत्ता भएको माडीगज नामको हात्तीलाई करिब एक महिनापछि नियन्त्रणमा लिइएको छ।
निकुञ्जका अनुसार चराउने क्रममा अचानक गैँडाको आवाज सुनेपछि तर्सिएको हात्ती पोष्ट क्षेत्रबाट भागेको थियो। खोजी अभियान सञ्चालन गरिरहेको प्राविधिक टोलीले सोमबार लामिचौर क्षेत्र नजिकबाट डार्ट प्रविधिमार्फत औषधि प्रयोग गरी हात्तीलाई नियन्त्रणमा लिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नियन्त्रणमा लिइएको १३ वर्षे हात्तीलाई हाल लामिचौर पोष्टमा राखिएको छ। माउतेको निगरानी र आवश्यक स्याहारपछि उसको अवस्था सामान्य बनाएर पुनः गिदेनी पोष्टमा पठाइनेछ।
निकुञ्जका अधिकारीहरूका अनुसार गैँडा, बाघजस्ता वन्यजन्तुको उपस्थितिले डराएका वा अन्य कारणले उत्तेजित भएका हात्तीहरू कहिलेकाहीँ नियन्त्रणबाहिर जाने गरेका छन्। उचित हेरचाह र व्यवस्थापनपछि यस्ता हात्तीलाई सामान्य अवस्थामा फर्काउन सकिने जनाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा हाल ५३ वटा वयस्क तथा तीन वटा बच्चा हात्ती रहेका छन्। यी हात्तीहरू निकुञ्जको सुरक्षा, गस्ती तथा व्यवस्थापन कार्यमा प्रयोग हुँदै आएका छन्।







