काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिहरूबीच साझा उद्देश्यका आधारमा सहकार्य आवश्यक रहेको बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मुलुकको हित, लोकतन्त्रको संरक्षण, संविधानको रक्षा र सुशासन स्थापनाका लागि समान विचार भएका शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।
उनले एमाले आन्तरिक रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै देश र जनताको हितका लागि लोकतान्त्रिक, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यको वातावरण बनाउनुपर्ने बताए।
ओलीले राजनीतिक दलहरूबीच एकीकरण नै आवश्यक नभए पनि साझा मुद्दा र उद्देश्यमा सहकार्य गर्न सकिने प्रस्ताव राखे। उनले फरक–फरक राजनीतिक पहिचान कायम राख्दै समान लक्ष्य प्राप्तिका लागि मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार संविधानको प्रभावकारी कार्यान्वयन, कानुनी शासनको पुन:स्थापना र लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन साझा प्रयास आवश्यक छ।







