काठमाडौँ। अमेरिकाले भारतसहित आफ्ना करिब ६० व्यापारिक साझेदार देशबाट आयात हुने वस्तुमाथि नयाँ शुल्क लगाउने निर्णय गरेको छ ।
अमेरिकी प्रशासनका अनुसार, ती देशहरूले बाध्यकारी श्रम रोक्न पर्याप्त कदम नचालेकाले नयाँ शुल्क लागु गर्न लागिएको हो ।
अमेरिकाले १० देखि १२.५ प्रतिशतसम्मको नयाँ शुल्क भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापानलगायत प्रमुख व्यापारिक साझेदार देशहरूका सामानमा लागु गर्ने जनाएको छ ।
यी नयाँ शुल्क शुक्रबारदेखि लागु हुनेछन् । यसअघि यस वर्ष विदेशी सामानमा अस्थायी रूपमा लागु गरिएको १० प्रतिशत ट्यारिफ भने अब समाप्त हुनेछ ।
डोनाल्ड ट्रम्प गत वर्ष पुन: राष्ट्रपति निर्वाचित भएपछि सुरु भएको व्यापार युद्धको यो पछिल्लो ठूलो कदम मानिएको छ ।
यसै वर्ष अमेरिकी सर्वोच्च अदालतले संकटकालीन अधिकार प्रयोग गरेर विश्वका विभिन्न देशमाथि लगाइएका धेरै ट्यारिफ कानुनी रूपमा वैध नरहेको फैसला सुनाएको थियो ।
त्यसपछि राष्ट्रपति ट्रम्पले आफ्ना प्रमुख व्यापारिक नीतिहरू कार्यान्वयन गर्न अन्य कानुनी आधारहरू प्रयोग गर्न थालेका थिए ।
गत महिना ह्वाइट हाउसले बाध्यकारी श्रम रोक्न पर्याप्त प्रयास नगरेको आरोप लागेका देशहरूलाई शुल्क लगाउने प्रस्ताव सार्वजनिक गरेको थियो । ती देशहरूबाट अमेरिका आयात हुने वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाउने प्रस्ताव सार्वजनिक गरेको थियो ।






