काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् ।
पक्राउ मध्ये राज कुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बाट र सुरेशलाई काठमाडौँ महानगरपालिका–७ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।






