काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई लोकतान्त्रिक आन्दोलनका समर्पित र प्रेरणादायी नेताका रूपमा स्मरण गरेका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठनको निर्माण तथा लोकतन्त्रको संरक्षणमा श्रेष्ठले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। स्याङ्जाबाट सुरु भएको उनको राजनीतिक यात्राले नेपाली काँग्रेसको कार्यवाहक सभापति, पूर्वउपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र मुलुकलाई महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्।
थापाले श्रेष्ठको निधनसँगै नेपाली काँग्रेसले समर्पित, निष्ठावान, अनुभवी र निर्भीक नेता गुमाएको उल्लेख गर्दै यसलाई पार्टी र देश दुवैका लागि अपूरणीय क्षति भएको बताएका छन्। उनले दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेका छन्।
सभापति थापाले नेता श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जानकारी पनि दिएका छन्।






