काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
मंगलबार जारी विज्ञप्तिमार्फत लामिछानेले घटनाबाट सिर्जित तनावपूर्ण अवस्थाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् भने घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
लामिछानेले कुनै पनि विवाद, असन्तुष्टि वा समस्याको समाधान हिंसा र द्वन्द्वबाट सम्भव नहुने उल्लेख गरेका छन्। उनले नेपाली समाजको आधारका रूपमा रहेको सामाजिक सहिष्णुता, आपसी एकता र बहुलवादी संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले उत्तेजना फैलाउने गतिविधि, अफवाह तथा सामाजिक सद्भावमा असर पार्ने कार्यबाट टाढा रहन आम नागरिक, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व तथा सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
रास्वपा सभापति लामिछानेले वर्तमान संवेदनशील अवस्थामा संयमता अपनाउनु आवश्यक रहेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्न, नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग सहकार्य भइरहेको बताएका छन्।
घटनाको निष्पक्ष र छिटो अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय, राहत, क्षतिपूर्ति र आवश्यक उपचारको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
लामिछानेले घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न राजनीतिक दल तथा सम्बद्ध पक्षलाई आग्रह गरेका छन्। रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा रहेको भन्दै उनले परिस्थितिलाई सामान्य बनाउन संवाद र सहकार्यका माध्यमबाट समाधान खोज्न पार्टी सक्रिय रहने बताएका छन्।
उनले पार्टीका स्थानीय संरचनासहित सबै सदस्यलाई शान्ति र सद्भाव कायम गर्ने कार्यमा सकारात्मक भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन्।







