काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्कीको संसदीय सुनुवाइ प्रक्रिया बुधबारदेखि औपचारिक रूपमा अघि बढेको छ।
सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रारम्भिक चरणमा कार्कीविरुद्ध दर्ता भएका उजुरीका उजुरीकर्तासँग छलफल सुरु गरेको छ। समितिको कार्यसूचीअनुसार उजुरीकर्ताको भनाइ सुनेपछि प्रस्तावित उम्मेदवार कार्कीलाई समितिसमक्ष उपस्थित गराई आवश्यक प्रश्नोत्तर तथा सुनुवाइ प्रक्रिया सञ्चालन गरिनेछ।
कार्कीको सिफारिससँग सम्बन्धित नियुक्ति प्रक्रिया, संवैधानिक पदमा नियुक्त हुने व्यक्तिको आवश्यक योग्यता तथा नैतिक आचरणका विषय उठाउँदै समितिमा उजुरी दर्ता भएको छ। ती विषयमा समितिले सुनुवाइका क्रममा आवश्यक छलफल गर्ने तयारी गरेको छ।
यसअघि मंगलबार समितिले निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासँग सुनुवाइ सम्पन्न गरिसकेको छ।






