काठमाडौँ । सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसदमा दर्ता गरी अगाडि बढाउन स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
मन्त्रिपरिषद्को निर्णय अनुसार संसद्मा पेश गर्न स्वीकृति प्राप्त गर्ने विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधनसम्बन्धी विधेयक समावेश छ।
यस्तै, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनको संशोधन र एकीकरण, संक्रामक पशुरोग नियन्त्रण तथा व्यवस्थापन, राहदानी ऐन, २०७६ संशोधन तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयकलाई पनि स्वीकृति प्रदान गरिएको छ।
बालश्रम निषेध तथा नियमन, आन्तरिक वायुसेवा प्रदायकको दायित्वसम्बन्धी व्यवस्था, मेलमिलाप ऐन, २०६८ संशोधन तथा कर्मचारी ऐन, २०१९ संशोधनसम्बन्धी विधेयकलाई पनि सरकारले संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ।






