काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै जिल्लावासीलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न र प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सार्वजनिक अपिलमा सुनसरीमा विकसित घटनाक्रमपछि देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन तथा विरोधका गतिविधिबाट सिर्जित परिस्थितिप्रति प्रशासनको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
पर्सा जिल्ला ऐतिहासिक रूपमा बहु सांस्कृतिक र बहुधार्मिक पहिचान बोकेको तथा विभिन्न समुदायबीच आपसी सम्मान र सहअस्तित्व कायम रहेको क्षेत्र भएको जनाउँदै प्रशासनले यही सामाजिक एकतालाई निरन्तरता दिन सबै पक्षसँग आग्रह गरेको छ।
सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावमा सम्भावित असरलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सुरक्षा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ। उक्त आदेश २०८३ साउन १५ गते बिहान ६ बजेसम्म कायम रहने जनाइएको छ।
प्रशासनले निषेधाज्ञाको अवधिमा अनावश्यक आवतजावत नगर्न, समूहमा भेला हुन, जुलुस तथा प्रदर्शन गर्न वा गराउनबाट टाढा रहन नागरिकलाई अनुरोध गरेको छ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक द्वेष फैलाउने, उत्तेजना सिर्जना गर्ने वा शान्ति सुरक्षामा असर पार्ने किसिमका भ्रामक सूचना, सामग्री, तस्बिर तथा भिडियो प्रसारण नगर्न आग्रह गरिएको छ। यस्ता गतिविधिमा संलग्न हुनेलाई विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
प्रशासनले कुनै पनि विवाद वा असहमतिको समाधान कानुनी प्रक्रिया र संवादमार्फत खोज्न आग्रह गर्दै कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा हिंसात्मक गतिविधिमा संलग्न हुने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।
जिल्लाको शान्ति सुरक्षाका लागि सुरक्षा निकायहरू उच्च सतर्कतासहित परिचालन गरिएको जनाउँदै प्रशासनले शंकास्पद गतिविधि, अफवाह वा सामाजिक सद्भावमा असर पार्ने प्रयासबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन नागरिकसँग आग्रह गरेको छ।
विविधताभित्रको एकता नै समाजको शक्ति र पहिचान भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले वर्तमान परिस्थितिमा संयमित र जिम्मेवार व्यवहारमार्फत पर्साको शान्ति तथा सद्भाव कायम राख्न सबै नागरिकको सहयोग आवश्यक रहेको बताएका छन्।






