काठमाडौँ । विभिन्न जिल्लामा दर्ता भएका पाँच वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय अन्जन भट्टलाई कागेश्वरी मनोहरा नगरपालिका-७ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरका पाँच वटा उजुरी दर्ता रहेका छन्।
अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी उजुरी दर्ता भएपछि उनी फरार रहेको खुलेको प्रहरीले जनाएको छ।
यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर काठमाडौँमा एक लाख ४८ हजार रुपैयाँ, प्रहरी वृत्त बालाजुमा दुई लाख ५० हजार रुपैयाँ तथा प्रहरी वृत्त कालिमाटीमा एक लाख ८० हजार रुपैयाँ बराबरका बैंकिङ कसुरसम्बन्धी उजुरी पनि उनीविरुद्ध दर्ता रहेको प्रहरीले जानकारी दिएको छ।






