काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा-अर्चना गरेका छन्। आइतबार मन्दिर पुगेका उनले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा सम्पन्न गरेका हुन्।
‘नेपालको बाबाधाम’ तथा ‘मधेशको कैलास’का रूपमा परिचित टुटेश्वरधाम पुगेका गृहमन्त्रीले मन्दिरमा दर्शनसमेत गरेका थिए।
पूजापछि गृहमन्त्री गुरुङले साउन महिनाभर सञ्चालन भइरहेको धार्मिक मेलाको सुरक्षा प्रबन्ध, भीड व्यवस्थापन तथा श्रद्धालुलाई उपलब्ध गराइएका सेवा-सुविधाबारे जानकारी लिएका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवका अनुसार मन्दिरका पुजारी श्रीचन दासले गृहमन्त्रीबाट विशेष पूजा सम्पन्न गराएका थिए।
भ्रमणका क्रममा मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे गृहमन्त्रीलाई जानकारी गराइएको अध्यक्ष यादवले बताए। उनका अनुसार टुटेश्वरनाथ महादेव मन्दिरको संरक्षण, प्रवर्द्धन र दीर्घकालीन विकासका लागि पुरातात्त्विक अध्ययन आवश्यक रहेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
साउन महिनाभर टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतका लाखौँ श्रद्धालु जल अर्पण गर्न आउने गर्छन्। यस अवधिमा आयोजना हुने धार्मिक मेलाका कारण टुटेश्वरधाम मधेश प्रदेशको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ।
मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङ टुटेश्वरधाम परिसरमा रहेको श्री रत्न छोलिङ गुम्बामा पनि पुगेका थिए। त्यहाँ उनले गौतम बुद्धको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्दै विश्व शान्तिको कामना गरेका थिए।






