काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन् ।
नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरेका हुन् । नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको संकेत देखिनुपर्ने बताए । मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ मौसमका कारण ‘टब्र्युलेन्स’ (अवरोध) आए पनि गन्तव्य सुरक्षित रहेको दाबी गरे ।
आफ्नो पार्टीमा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा र व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको जिकिर गर्दै उनले कुनै पनि असहज परिस्थितिलाई सम्हाल्न सक्ने ‘राजनीतिक अभिभावकत्व’ रास्वपासँग रहेको बताए । गैर–राजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ र पेशेवरहरूको समूहले देश परिवर्तनका लागि लिएको यो चेतना र अवसर इतिहासमै दुर्लभ भएको उनको भनाइ छ ।
सभापति लामिछानेले भने, ‘हामीले भर्खरै सरकार बनाएका छौँ र ऐतिहासिक जनमत प्राप्त गरेका छौँ । त्यसैले चार महिनामै सरकारको मूल्याङ्कन गरिहाल्ने समय भइसकेको छैन । तर यो अवधिमा हामीले केही छनक देखाउन सक्नुपर्थ्यो भन्ने तपाईँहरूको सुझावलाई हामीले मनन गरेका छौँ । हामी हरेक दिन तपाईँहरूलाई सुनिरहेका छौँ । तर चिन्ता नगर्नुहोस् । गन्तव्यतर्फ अघि बढिरहेको हाम्रो उडानमा कहिलेकाहीँ मौसमका कारण टब्र्युलेन्स आउन सक्छ । त्यसैले ‘सिट ब्याक एन्ड रिल्याक्स, फास्टेन योर सिट बेल्ट ।’ हामी तपाईँहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौँ । अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ । किनकि यो पार्टीमा तपाईँहरूजस्तै केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन् । परिवर्तनका लागि गैर राजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनै पनि देशले सहजै पाउँदैन । हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ ।’
यो सरकार नागरिककै भएको र इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई जनतासँगको सहकार्यमा नै सफल बनाउने प्रतिबद्धता समेत सभापति लामिछानेले व्यक्त गरे ।






