काठमाडौँ । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
काँग्रेसको जारी केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको विज्ञप्तिमा घटनासँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको हो।
काँग्रेसका अनुसार सरकारले पीडित पक्षलाई न्याय दिलाउने प्रतिबद्धतासहित सम्झौता गरे पनि हालसम्म चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य प्रतिबद्धता कार्यान्वयनमा अघि बढ्न सकेको छैन। सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीय समुदायमा असन्तुष्टि बढिरहेको काँग्रेसको निष्कर्ष छ।
सरकारको कार्यशैलीका कारण परिस्थितिले पुनः तनावको रूप लिन सक्ने जोखिम रहेको उल्लेख गर्दै काँग्रेसले पूर्वसहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
काँग्रेसले देवानगञ्ज-कप्तानगञ्ज घटनासँगै विभिन्न नागरिक तथा पेशागत समूहसँग सरकारले गरेका सम्झौता कार्यान्वयनको विषयसमेत उठाएको छ। चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, अनुचित लेनदेनबाट पीडित पक्षलगायतसँग भएका सहमति कार्यान्वयन गर्न उसले आग्रह गरेको छ।
सरकारले विभिन्न समूहसँग वार्ता गरी सहमति गर्ने तर त्यसलाई व्यवहारमा लागू गर्न तत्परता नदेखाउने प्रवृत्ति देखिएको काँग्रेसको आरोप छ। सहमति केवल तत्कालीन दबाब व्यवस्थापन गर्ने औपचारिक दस्तावेजमा सीमित नहोस् भन्दै उसले सम्बन्धित पक्षलाई राहत र न्यायको अनुभूति हुने गरी कार्यान्वयन गर्न माग गरेको छ।
काँग्रेसले हरेक नागरिक तथा पेशागत संघ-संस्थासँग भएका समझदारीलाई समयमै कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जनाएको छ। केवल सहमतिका लागि संवाद गर्नु वा नयाँ सहमति घोषणा गर्नु मात्र उपलब्धि नहुने भन्दै कार्यान्वयन पक्षलाई प्राथमिकता दिनुपर्ने उसको धारणा छ।
यसैबीच, काँग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता चालिसेले बताएका छन्।






