काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले युवावस्थामा शारीरिक तथा मानसिक स्फूर्तिसँगै जोखिम मोल्न सक्ने उच्च क्षमता हुने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा शक्तिमा हुने उत्साह र ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वास नै उनीहरूको मुख्य सम्पत्ति भएको उल्लेख गरे । प्रमुख सचेतक दुलालले युवाहरूमा अनुभवको कमी हुनु स्वाभाविक भए तापनि त्यही कमीले गर्दा नै उनीहरू निर्धक्क भएर अघि बढ्न सक्ने तर्क गरे । आफ्नो विगतको अनुभव स्मरण गर्दै पूर्व मन्त्री समेत रहेका दुलालले जनयुद्धको समयमा १८–१९ वर्षकै उमेरमा जनमुक्ति सेनाको कमाण्ड गर्दा आफूमा कुनै डर वा भविष्यको चिन्ता नरहेको बताए।
उनले भने, ‘यदि युवाले अनुभवको धेरै हिसाबकिताब गर्न थाल्यो भने उसले आफ्नो स्वाभाविक जोखिम लिने क्षमता गुमाउन सक्छ । अनुभवको खोजी भन्दा पनि केही गर्ने आँट र उत्साहले युवालाई क्रियाशील बनाउँछ । त्यसबेला बन्दुक र गोलीका अगाडि हाम फाल्न पनि कुनै डर लाग्दैनथ्यो र भोलि के होला भन्ने हिसाबकिताब पनि गरिँदैनथ्यो । तर उमेर बढ्दै जाँदा अहिले धेरै कुराको हिसाबकिताब र सोचविचार हुने गर्दछ ।’
दुलालले युवालाई उमेर, शक्ति, उत्साह र जोखिम लिने क्षमताको सङ्गमका रूपमा परिभाषित गर्दै यी गुणहरू नै युवाका आधारभूत तत्त्व भएको स्पष्ट पारे। युवामा हुने यस्तो ऊर्जा उमेर ढल्किँदै जाँदा कम हुँदै जाने उनको विश्लेषण छ ।






