कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जानकारी दिए । बालिकाको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण भइरहेको बताउँदै प्रहरी निरीक्षक विष्टले शव परिवारको जिम्मा लगाइने बताए ।
त्यसैगरी, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक (बनबासा पुल) बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात रहेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले महाकाली नदीमा खत्रीको खोजी जारी रहेको बताए ।






