काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले विद्युत उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधारलाई समान प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्। उत्पादन आयोजनाबाट विद्युत तयार भए पनि आवश्यक प्रसारण संरचना नहुँदा ऊर्जा उपयोगविहीन हुने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिएकी हुन्।
नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा सचिव दवाडीले विद्युत क्षेत्रको विकासलाई उत्पादन बढाउने विषयमा मात्र सीमित नगरी उत्पादन, प्रसारण, वितरण र मागबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।
उनका अनुसार अब प्राधिकरणको कार्यसम्पादन मूल्यांकन विद्युत उत्पादन र वितरण क्षमताका आधारमा मात्र गर्ने अभ्यास पर्याप्त हुँदैन। उपभोक्ताले पाउने सेवाको विश्वसनीयता, सुरक्षाको अवस्था, विद्युत जडानको सहजता, प्राविधिक समस्या समाधानको गति तथा गुनासो व्यवस्थापनलाई समेत संस्थागत कार्यसम्पादनको महत्वपूर्ण सूचक बनाउनुपर्ने उनको भनाइ छ।
जलविद्युतसँगै सौर्यलगायत नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन बढिरहेको अवस्थामा विद्युतलाई उपभोक्ता तथा बजारसम्म पुर्याउने प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणालीको विस्तार पनि त्यसैअनुसार अघि बढाउनुपर्ने उनले बताइन्। उत्पादन क्षमता र प्रसारण पूर्वाधारबीच तालमेल नहुँदा विद्युत खेर जाने जोखिम रहने भएकाले पूर्वाधार विकासलाई समयमै सम्पन्न गर्नुपर्ने उनको जोड छ।
सचिव दवाडीले देशभित्र विद्युतको खपत बढाउनु ऊर्जा क्षेत्रको प्रमुख प्राथमिकता हुनुपर्ने बताइन्। उद्योग, कृषि तथा सिँचाइ, विद्युतीय यातायात र घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग विस्तार गर्न सके पेट्रोलियम तथा अन्य आयातमा निर्भरता घटाउन र व्यापार घाटा न्यूनीकरणमा योगदान पुग्ने उनको भनाइ छ।
नेपालको विद्युत बजार राष्ट्रिय सीमाभन्दा बाहिर विस्तार भइरहेको उल्लेख गर्दै उनले भारतसँगको विद्युत व्यापार विस्तार भइरहेको र बंगलादेशसँग समेत विद्युत व्यापारको नयाँ चरण सुरु भएको बताइन्। नेपालको जलविद्युतलाई दक्षिण एसियाली स्वच्छ ऊर्जा बजारसँग जोड्न अन्तरदेशीय प्रसारण पूर्वाधार, विद्युत प्रणालीको स्थायित्व, व्यापारिक क्षमता तथा सम्बन्धित नियामकीय संयन्त्रबीचको समन्वय थप बलियो बनाउनुपर्ने उनले बताइन्।
ऊर्जा क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढ्दै गएको र प्रविधिमा तीव्र परिवर्तन भइरहेको अवस्थामा संस्थागत संरचना र कार्यशैलीलाई पनि समयानुकूल बनाउनुपर्ने सचिव दवाडीको धारणा छ। विद्युत क्षेत्रका संस्थालाई बढी व्यवस्थित, विशिष्टीकृत, पारदर्शी र नतिजामुखी बनाउँदै बदलिँदो विद्युत बजारका चुनौती सामना गर्न सक्षम बनाउनुपर्ने उनले बताइन्।
प्राधिकरणका कर्मचारीलाई सुशासन, संस्थागत अनुशासन र सेवाको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै उनले नागरिकलाई छिटो तथा प्रभावकारी सेवा उपलब्ध गराउन निर्देशन दिइन्। उपभोक्ताका समस्या र गुनासो समयमै सम्बोधन गर्ने विषयमा कुनै कमजोरी नगर्नसमेत उनले आग्रह गरिन्।
सचिव दवाडीले आगामी दिनमा गुणस्तरीय विद्युत सेवा विस्तार, पूर्वाधार निर्माणमा समय पालना, विद्युत प्रणालीको विश्वसनीयता वृद्धि, आन्तरिक खपत प्रवर्द्धन, अन्तरदेशीय विद्युत व्यापार विस्तार तथा सुशासनलाई एकीकृत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताइन्। यससँगै पारदर्शिता, वित्तीय दिगोपना र प्रविधिमैत्री तथा दक्ष जनशक्ति विकासमा समेत संस्थागत ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।






