काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्दै दुःख दिएको र सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो। उजुरीका आधारमा आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगको केन्द्रिय कार्यालयले जनाएको छ।
अनुसन्धानका क्रममा पालले लेखापरीक्षण तथा कर निर्धारण गरी कर फर्छ्योट गर्ने सिलसिलामा पेस गरिएका बिल–बिजक नमिलेको र नमिलाए काम नहुने भन्दै यादवमार्फत रकमको बार्गेनिङ गरी पाँच लाख रुपैयाँ लिएको आयोगको आरोप छ।
आयोगले पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गरेको छ। उनीविरुद्ध पाँच लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरिएको छ।
यस्तै, चार्टर्ड एकाउन्टेन्ट यादवले पालसँग मिलेमतो गरी काम मिलाइदिने नाममा सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेको तथा पाललाई पाँच लाख रुपैयाँ लिन लगाई सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको आयोगको आरोप छ।
यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।






