काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनको नेतृत्व गरेको आफ्नो पार्टीमाथि जनअधिकार संरक्षणको थप जिम्मेवारी आएको बताएका छन्।
बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्धका संघर्ष हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुगेको राजनीतिक यात्रालाई स्मरण गरेका हुन्। अहिले प्राप्त पहिचान र अधिकारमाथि प्रतिगामी शक्तिबाट चुनौती उत्पन्न भएको उनको भनाइ छ।
उनले श्रमिक, किसान तथा श्रमजीवी वर्गका अधिकारमाथि समेत राज्यको तर्फबाट दबाब र हस्तक्षेप भइरहेको दाबी गरे। यस्ता गतिविधिको प्रतिरोध गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उनको भनाइ थियो।
अधिकारमाथिको हस्तक्षेप निरन्तर रहे त्यसको प्रतिवाद सडकबाट गर्नुपर्ने परिस्थिति आउन सक्ने चेतावनीसमेत प्रचण्डले दिएका छन्। उनले जनआन्दोलनको लामो अनुभव र ठूलो संख्यामा रहेका नेता–कार्यकर्ताका कारण नेपाली कम्युनिस्ट पार्टीसँग त्यस्तो चुनौती सामना गर्ने राजनीतिक आधार रहेको दाबी गरे।
आफूहरूले पुरानो पार्टी संरचना विघटन गरी नयाँ राजनीतिक संगठन निर्माणको पहलसमेत गरेको स्मरण गर्दै उनले त्यसलाई पार्टीको राजनीतिक इतिहाससँग जोडेर व्याख्या गरे। उक्त इतिहासलाई बिर्सन नहुने उनको भनाइ थियो।
गत भदौ २४ गते भएका घटनालाई राजनीतिक परिवर्तनको नयाँ मोडका रूपमा उल्लेख गर्दै प्रचण्डले त्यसपछि विचार, राजनीतिक दृष्टिकोण र संगठनात्मक आधारमा समानता भएका शक्तिहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्षमा पुगेको बताए।
निर्वाचनका क्रममा पार्टी एकताको माध्यमबाट जनतामाझ नयाँ राजनीतिक सन्देश पुर्याउने प्रयास गरिएको दाबी गर्दै उनले पछिल्लो निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्र बुझ्न नहुने बताए। भदौ २४ गतेका घटनाको निरन्तरताका रूपमा निर्वाचनलाई आफूहरूले विश्लेषण गरेको उनको भनाइ थियो।






