सर्लाही । सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ ।
प्रहरीले कौडेना गाउँपालिका-१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गहुँको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ३० वटा पोकामा लुकाइराखेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
गाँजा बरामद भएको उक्त बाँसको कच्ची घर स्थानीय विजय पटेलको रहेको खुलेको छ । घरधनी पटेल भने फरार रहेकाले उनको खोजी तथा बरामद लागू औषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । यस क्षेत्रमा यसअघि पनि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो । लागू औषध गाँजाको ओसारपसारको केन्द्र बनेको यस गाउँलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।






