काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले सरकार, राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघ-संस्थालाई एकजुट भएर खोज, उद्धार र राहतमा जुट्न अपिल गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले तिब्बततर्फबाट आएको बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतमा जुट्न सबै पक्षमा अपिल गरेका हुन्।
उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको समेत बताए । उनले गोसाइँकुण्ड यात्रामा रहेका दुई माइक्रोबस र एउटा बसमध्ये एउटा बस बाढीमा फसेर कयौँ जनाको ज्यान गएको सूचना प्राप्त भएको समेत जानकारी दिए। प्रभावित जिल्लाका सांसदहरू जिल्ला पुगेर खोज तथा उद्धारमा सहभागी हुने विषयमा छलफल भइरहेको समेत उनले बताए । उनले विपद्बाट पीडित परिवारलाई राज्य र सम्पूर्ण संसद् साथमा रहेको सन्देश समेत दिए ।
उनले भने, ‘सरकार एक प्रकारको तयारीमा छ यति हुँदाहुँदै पनि हामी सबैजना अन्यौलमै छौँ जस्तो देखिन्छ । हामी प्रभावित जिल्लाका सांसदहरू जिल्ला जाने कुरा र त्यहाँ गएर विपद्मा खोज र उद्धारको लागि सहभागी हुने पनि छ । हामीले यस विषयमा छलफल गरिरहेका छौँ । यसबाट हजारौँ जना बेपत्ता भएको खबर छ । लाखौँ मानिसहरू प्रभावित हुनुभएको छ । गोसाइकुण्ड यात्रामा रहेका दुई वटा माइक्रो बस र एउटा बसमध्ये एउटा बस बाढीमा फसेर कयौँ जनाले ज्यान गुमाएको भन्ने सूचना पनि मैले पाएको छु । त्यस्तै अन्य जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै मानिसहरू यो विपद्मा पर्नुभएको सूचना प्राप्त भएको छ । यो दुःख र पीडाको घडीमा हामी सबै कसरी जोडिएर जाने भन्ने कुरामा हामी सबैलाई चिन्ताले छोएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासी पश्चिमलाई क्षति पुर्याएको छ । विद्यालय, बस्ती, बजार, पुल पुलेसामा पूर्ण क्षति पुर्याएको रेकर्डहरू समेत आउन थालेका छन् । यो कल्पनाभन्दा बाहिरको क्षति हो । बाढीले क्षति व्यहोर्ने परिवारप्रति राज्य र पुरै संसद यहाँको साथमा छौँ भन्ने सन्देश दिन चाहन्छु । सरकार, सबै राजनीतिक दल, सबै सरकारी निकायहरू, संघ संस्था, पूर्वसैनिक प्रहरी समेत मिलेर राहत र उद्धारमा लागौँ ।’
उनले विपद्को सामना गर्न सरकारका संयन्त्रहरू सक्रियताका साथ काम गरिरहेको समेत बताए।






