काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुन:स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।
बाढीले विद्युत् संरचनामा उल्लेख्य क्षति पुर्याएपछि प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र स्रोतसाधन परिचालन गरेको हो। प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्यसहित मर्मत तथा पुन:स्थापनालाई उच्च प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।
क्षतिग्रस्त संरचनाको मर्मत सम्पन्न नहुँदासम्म विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था पनि अपनाइएको छ। उपलब्ध स्रोतसाधन परिचालन गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित गर्ने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा तत्काल विद्युत् सेवा पुर्याउन सौर्य ऊर्जा प्रविधि प्रयोग गर्ने तयारी अघि बढाएको छ। मन्त्रालयले त्यसका लागि आवश्यक संयन्त्र परिचालन गरेको जनाएको छ।






