काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन ग्लोबल आईएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।
बैंकका अनुसार बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी आसपासका क्षेत्रमा डुबान तथा कटान गराउनुका साथै जनधनको क्षति पुर्याएको छ। बाढीको प्रभावबाट स्थानीय बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।
विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना जनाएको छ। बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई खाद्यान्न र आवासको व्यवस्थामा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम प्रदान गर्न लागिएको बैंकले जनाएको छ।
त्यसैगरी, बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको दीर्घकालीन पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ। राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहायता उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।
बैंकका अनुसार यसअघि पनि मुलुकका विभिन्न स्थानमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका बेला आर्थिक, भौतिक र मानवीय सहयोग उपलब्ध गराइएको थियो।






