काठमाडौँ । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेषमा परिणत भएका घर र भवनमा उद्धारका नाममा अनधिकृत प्रवेश नगर्न चेतावनी दिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आइतबार क्षतिग्रस्त भवनभित्र हुने खोज तथा तलासी प्रहरीको उपस्थितिमा मात्रै गर्न पाइने बताएका हुन्। विपद्को फाइदा उठाएर आपराधिक गतिविधि हुन सक्ने भन्दै प्रहरीले प्रभावित क्षेत्रमा निगरानी बढाएको छ।
काफ्लेले आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष वा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षाकर्मीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेका छन्।
‘उद्धारका नाममा गलत गतिविधि र कानुन उल्लङ्घन गर्न पाइँदैन,’ काफ्लेले भनेका छन्, ‘प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी हुनेछ।’
मिथ्या सूचना फैलाए कारबाही
विपद्सँग सम्बन्धित गलत तथा मिथ्या सूचना प्रवाह गर्ने गतिविधिमाथि पनि प्रहरीले निगरानी गरिरहेको छ। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट र भ्रमपूर्ण सूचना फैलाएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।
विपद्को संवेदनशील अवस्थामा गलत सूचनाले उद्धार तथा राहत कार्य प्रभावित हुनुका साथै पीडित र तिनका परिवारमा थप त्रास सिर्जना गर्न सक्ने भएकाले आधिकारिक सूचनामा मात्र विश्वास गर्न प्रहरीले आग्रह गरेको छ।
राहत वितरणमा एकद्वार प्रणाली पालना गर्न आग्रह
प्रहरीले विभिन्न संस्था र व्यक्तिलाई राहत सामग्री वितरण गर्दा सरकारले तोकेको एकद्वार प्रणाली पालना गर्न पनि आग्रह गरेको छ।
राहत सामग्री स्थानीय तहलाई हस्तान्तरण गरी स्थानीय सरकार र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै वितरण गर्नुपर्ने प्रवक्ता काफ्लेले बताएका छन्। समन्वयबिना राहत वितरण गर्दा वास्तविक पीडित छुट्ने, एकै व्यक्तिले दोहोरो राहत पाउने तथा वितरण व्यवस्थापनमा समस्या आउन सक्ने प्रहरीको भनाइ छ।






