काठमाडौँ । सरकारले भोटेकोशी बाढीपछिको संकट व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ ।
सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका प्रयासहरूबारे औपचारिक जानकारी गराएका हुन् ।
सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले खोज, उद्धार, उपचार र राहतका लागि सुरक्षा निकाय र प्रशासनिक संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको बताए ।
११ हजारभन्दा बढीको उद्धार, ९५६ जना उपचारपछि घर फर्किए
सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३ सय ७९ जनाको सुरक्षित उद्धार गरिएको छ । बाढी र पहिरोमा परी घाइते भएकाहरूको काठमाडौँ र देशका विभिन्न अस्पतालहरूमा नि:शुल्क उपचार भइरहेको छ ।
उपचारपश्चात हालसम्म ९ सय ५६ जना डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रणका लागि विशेष मेडिकल टोली र औषधि समेत परिचालन गरिएको सरकारले जनाएको छ ।
बाढी प्रभावित परिवारका लागि खाद्यान्न, त्रिपाल, औषधि र स्वच्छ खानेपानी जस्ता अत्यावश्यक सामग्रीको वितरण कार्य निरन्तर भइरहेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा प्रभावितहरूका लागि २७ वटा आश्रय स्थल निर्माण गरी बसोबासको व्यवस्था मिलाइएको छ ।
विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू ९० प्रतिशतभन्दा बढी स्थानमा पुनः सञ्चालनमा आइसकेका छन् । बाढीले क्षति पुर्याएका जलविद्युत् आयोजना र अन्य भौतिक पूर्वाधारहरूको अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निरन्तर अनुगमन र सूचना प्रवाह भइरहेको छ । जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा फसेकाहरूको खोजी कार्य समेत जारी छ ।
उद्धार कार्यमा ढिलाइ भएको भन्ने गुनासोप्रति स्पष्ट पार्दै प्रवक्ता पोखरेलले भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल अवरुद्ध हुँदा केही स्थानमा कठिनाइ भएको बताए ।
उनले भने, ‘खबर प्राप्त हुनासाथ प्रधानमन्त्रीको निर्देशन र गृहमन्त्रीको समन्वयमा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । मौसम र भौगोलिक अवस्थाका कारण हेलिकप्टर अवतरणमा समस्या भए पनि सरकारले कुनै कसर बाँकी नराखी उद्धार कार्यलाई अघि बढाएको छ ।’
सरकारले मृतकहरूको शव व्यवस्थापनलाई पनि संवेदनशीलताका साथ अघि बढाएको बताए ।






