अफगानिस्तान । अफगानिस्तानको सुरक्षा बलले विगत १२ महिनामा देशभर सञ्चालन गरेको विभिन्न कारबाहीका क्रममा २ हजार ८५८ थान साना तथा ठूला हतियार र ठूलो परिमाणमा गोलाबारुद बरामद गरेको छ ।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस विषयमा औपचारिक जानकारी दिएका हुन् । देशभर गरिएका विशेष अपरेसनहरूको नतिजा सार्वजनिक गर्दै प्रवक्ता मुजाहिदले सुरक्षा फौजले २ हजार ८५८ थान विभिन्न प्रकारका हतियारका साथै २५ हजार ८५४ राउण्ड गोलाबारुद, १६९ वटा विभिन्न प्रकृतिका विद्युतीय धराप (माइन), सातवटा सञ्चार उपकरण र १० थान सैन्य सामग्री नियन्त्रणमा लिएको बताए ।
यसैगरी, हतियार तथा उपकरण ओसारपसारमा संलग्न रहेको आशंकामा ८०४ जना संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।
सुरक्षा अधिकारीहरूले सोही अवधिमा २३२ वटा चारपाङ्ग्रे सवारी साधन र २६ वटा मोटरसाइकल समेत जफत गरेका छन् । जफत गरिएका सवारी साधनहरूमध्ये केही सैन्य प्रयोजनका रहेका छन्, जुन विभिन्न कारबाहीका क्रममा बरामद गरिएको मुजाहिदले उल्लेख गरे ।






