काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितहरूलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताए ।
अध्यक्ष ओलीले एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताहरूको परिचालनमार्फत राहत संकलन तथा वितरण कार्य गरिरहेको जानकारी दिए। उनका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए तापनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ ।
उनले थप स्पष्ट पार्दै राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक भएको र उद्धार एवं राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताए ।
राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भने, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएका छौँ ।’
हालको विषम परिस्थितिमा उद्धार र राहत वितरण नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकतालाई सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताए।






