काठमाडौँ । नेपाल सरकारकी सहसचिव तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक भएको छ। प्रशासनिक जिम्मेवारीसँगै गीत-संगीतमा सक्रिय पंगेनीले तीजको अवसर पारेर नयाँ सांगीतिक सिर्जना ल्याएकी हुन्।
गीतमा पंगेनी र दीपकराज विश्वकर्माको स्वर रहेको छ। गीतको शब्द तथा संगीत पंगेनी स्वयंले तयार गरेकी हुन्। संगीत संयोजन सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ दीपकराज विश्वकर्माले गरेका छन्।
गीतको म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन राजीव समरले गरेका छन्। भिडियोमा तीजको सांस्कृतिक परिवेशसँगै महिलाहरूको जमघट र नाचगानलाई दृश्यमा उतारिएको छ।
भिडियोमा सुष्मिता गुरुङ, मनमाया पंगेनी, शिव भट्टराई र माधवप्रसाद पंगेनीको अभिनय छ। यससँगै गीतको सिर्जना र गायनमा रहेकी पंगेनी आफैँ म्युजिक भिडियोमा समेत देखिएकी छन्।
भिडियोको छायाङ्कन विशाल थापा एन्ड टिमले गरेको छ। डिन्सन शाहले सम्पादन तथा कलरिङ गरेका छन् भने सम्पादन स्टुडियो आई क्याच स्टुडियो रहेको छ। उत्पादन व्यवस्थापन विक्रम तामाङले गरेका छन्। मेकअप आर्टिस्ट (एमयूए) सपना लम्साल हुन्।
प्रशासनसँगै सांगीतिक सिर्जनामा सक्रिय
पंगेनी पछिल्लो समय प्रशासनिक जिम्मेवारीसँगै गीत-संगीतको सिर्जनामा पनि सक्रिय देखिएकी छन्। यसअघि उनको शब्द तथा संगीत रहेको ‘लैजाचरी-शान्तिको धुन’ समेत सार्वजनिक भएको थियो। उक्त गीतमा विभिन्न क्षेत्रका बहालवाला तथा पूर्वप्रशासकहरूको सहभागिता थियो।






