काठमाडौँ । हालैको विनाशकारी बाढी तथा पहिरोबाट आफ्नै नेटवर्क तथा पूर्वाधारमा करिब साढे तीन करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि सरकारलाई एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्को कठिन घडीमा सरकारसँगै निजी क्षेत्र पनि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सक्रिय रूपमा अघि बढिरहेका बेला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर एक करोड एक लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्। विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सहयोगलाई व्यावसायिक गतिविधिसँग मात्र जोडेर नभई मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा लिइएको छ। देशका नागरिक समस्यामा परेका बेला आफू स्वयं प्रभावित भए पनि उनीहरूको साथमा उभिनुपर्ने मान्यताका आधारमा सहयोग गरिएको वर्ल्डलिंकको भनाइ छ।
आफ्नै संरचनामा करिब साढे तीन करोडको क्षति, तीन दिनमै सेवा पुन:स्थापना
हालैको बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण कम्पनीले प्रत्यक्ष रूपमा करिब तीन करोड ५० लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।
आफ्नै संरचनामा ठूलो क्षति पुगे पनि ग्राहक तथा नागरिक लामो समयसम्म इन्टरनेट सेवाबाट वञ्चित हुन नपरोस् भनेर बाढी आएको तीन दिनभित्र प्रभावित नेटवर्क पुन:स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ।
विपद्का कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समेत समस्या उत्पन्न भएको अवस्थामा वर्ल्डलिंकका प्राविधिकसहित सम्बन्धित टोली प्रभावित नेटवर्कको मर्मत तथा पुन:स्थापनामा निरन्तर खटिएका थिए।
इन्टरनेट अहिले व्यावसायिक सेवा मात्र नभई सूचना तथा सञ्चारसँगै उद्धार, राहत र आपत्कालीन समन्वयको महत्त्वपूर्ण माध्यमसमेत बनेको कम्पनीको बुझाइ छ। त्यसैले विपद्का समयमा सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्नुलाई पनि मानवीय सहयोगको एउटा महत्त्वपूर्ण हिस्साका रूपमा लिइएको वर्ल्डलिंकले जनाएको छ।
व्यवसायसँगै सामाजिक र राष्ट्रिय उत्तरदायित्व
नेपालको डिजिटल कनेक्टिभिटीमा भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ।
कम्पनीले आफ्नै पूर्वाधारमा करिब साढे तीन करोड रुपैयाँ बराबरको क्षति व्यहोरेको अवस्थामा पनि बाढी तथा पहिरो प्रभावितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको हो। कम्पनीका अनुसार संकटका बेला व्यावसायिक हितभन्दा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने मान्यताअनुसार सहयोग उपलब्ध गराइएको हो।
वर्ल्डलिंकले नेपाली नागरिकलाई केवल आफ्ना ग्राहकका रूपमा मात्र नहेरी आफूले सेवा दिइरहेको समाज र समुदायको हिस्साका रूपमा लिएको जनाएको छ। देशका विभिन्न भूगोल र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले विपद्का समयमा नागरिकको दु:खमा साझेदार बन्नुलाई आफ्नो सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिएको बताएको छ।
राहतदेखि पुनर्स्थापना र पुनर्निर्माणसम्म सहयोग पुग्ने अपेक्षा
वर्ल्डलिंकले उपलब्ध गराएको एक करोड एक लाख रुपैयाँबाट बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रले कठिन परिस्थिति सामना गरिरहेका बेला सरकारको प्रयासमा निजी क्षेत्र र नागरिक समाजको सहकार्यसमेत आवश्यक देखिएको छ। यही भावनाअनुसार आफू स्वयं विपद्बाट प्रभावित भए पनि प्रभावित नागरिकको साथमा उभिएर सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ।
नेपालका ठूला इन्टरनेट सेवा प्रदायकमध्ये एक वर्ल्डलिंकले विपद्का बेला नेटवर्क तथा पूर्वाधार पुन:स्थापना गरी सञ्चार सेवा निरन्तर राख्नुका साथै प्रभावित नागरिकका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएर आफ्नो सामाजिक तथा राष्ट्रिय उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरेको जनाएको छ।






