काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन जेड’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार ललितपुरमा जेन जेड शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चार मन्त्री भएको समयमा जेन जेड अभियन्ताहरूसँग निकै मेहनतका साथ १० बुँदे सम्झौता गरिएको स्मरण गर्दै सांसद खरेलले उक्त सम्झौताको कानूनी हैसियत महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
सो सम्झौतालाई कतिपयले ‘कागजको टुक्रा’ को संज्ञा दिए पनि सरकारले राजपत्रमा प्रकाशित गरेर त्यसलाई वैधानिकता दिएको उनको भनाइ छ ।
सम्बोधनका क्रममा खरेलले वर्तमान गृहमन्त्री स्वयं सोही आन्दोलनको नेतृत्वदायी पृष्ठभूमिबाट आएकाले आन्दोलनको मर्म र भावना बुझ्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘आज गृहमन्त्री र प्रधानमन्त्री दुवैले यसको मर्म बुझ्नुभएको छ । जेन–जी शहीदहरूले बगाएको रगत र उनीहरूको त्यागका कारण आज हामी यो अवस्थामा छौँ । त्यसैले आन्दोलनका क्रममा भएका सहमति र शहीद तथा घाइतेहरूको हक अधिकारका लागि सरकार दृढताका साथ अघि बढ्नुपर्छ ।’
सांसद खरेलले जेन जेडका मुद्दाहरू सम्बोधन गर्ने र आन्दोलनकारीका माग पूरा गर्ने सन्दर्भमा सरकारलाई आफ्नो तर्फबाट र पार्टीको तर्फबाट नि:शर्त समर्थन र सहयोग रहने प्रतिबद्धता समेत जनाए । सो क्रममा उनले जेन जेड आन्दोलनका शहीदहरूको सपना साकार पार्न सरकारलाई कुनै पनि दुबिधामा नपरी अघि बढ्न सुझाव दिएका छन्।






