काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ मा शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गरिरहेका युवामाथि राज्यबाट भएको बल प्रयोग र दमनको जिम्मेवारी निर्धारण गर्न माग गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले घटनाको सत्यतथ्य सार्वजनिक गरी गलत गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्। केही व्यक्तिलाई पक्राउ गरेर वा पक्राउ गरेजस्तो देखाएर मात्रै राज्यको जिम्मेवारी पूरा नहुने उनको भनाइ छ।
‘ती नौजवानहरू किन मारिए ? के कारणले गर्दा मारिए ? के यसको जिम्मेवारी कसैले लिनुपर्दैन ? के सत्यतथ्य बाहिर आउनुपर्दैन ? के सत्य स्थापित हुनुपर्दैन ?’ थापाले प्रश्न गरेका छन्।
सरकारसँग सत्य र जबाफदेहिताको माग
थापाले भदौ २३ मा अबोध युवाहरू शान्तिपूर्ण रूपमा आफ्ना असन्तुष्टि व्यक्त गरिरहेका बेला राज्यबाट ठुलो बल प्रयोग र दमन भएको बताएका छन्। घटनाको एक वर्ष बितिसक्दा पनि त्यसको सत्य स्थापित हुन नसकेको भन्दै उनले अहिले सरकारमा रहेकाहरूलाई जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।
‘के केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ ? के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन ? जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘त्यसैले हाम्रो माग छ, सत्यतथ्य सार्वजनिक होस्, सत्य स्थापित होस् र जसले गलत गरेको छ, उसले दण्ड पाओस्।’
थापाले घटनामा ज्यान गुमाउने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सन्तान गुमाएका अभिभावक र प्रियजन गुमाएका परिवारको पीडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै उनले समवेदना प्रकट गरेका छन्।
‘असन्तुष्टि विस्फोट हुने चेतावनी दिएको थिएँ’
थापाले भदौ २३ भन्दा केही दिनअघि तत्कालीन संसद्मा तत्कालीन प्रधानमन्त्रीलाई सरकारको कार्यशैलीप्रति नागरिक असन्तुष्ट रहेको जानकारी गराउँदै सच्चिन आग्रह गरेको स्मरण गरेका छन्।
‘प्रधानमन्त्रीजी, हामीले जे गरिरहेका छौँ, ठिक गरिरहेका छैनौँ। हामीले जे गरिरहेका छौँ, नागरिकहरूले त्यसलाई मन पराइरहेका छैनन्। हामीसँग सङ्ख्या छ तर हामीले विश्वास गुमाएका छौँ,’ आफूले त्यसबेला भनेको प्रसङ्ग उल्लेख गर्दै थापाले भनेका छन्, ‘हाम्रो कामको ढङ्ग मिलेको छैन, रङ्ग मिलेको छैन, हाम्रो गति ठिक छैन, हाम्रो मति ठिक छैन। हामीले सच्चिनुपर्छ। सच्चिएनौँ भने ठुलो असन्तुष्टि विस्फोट हुन्छ।’
आफूहरूले परिस्थितिको गम्भीरता बुझे पनि बुझ्नुपर्ने पक्षलाई बुझाउन नसकिएको उनको स्वीकारोक्ति छ। ‘जे नहोस् भनेका थियौँ, त्यही भयो। अन्ततः ठुलो असन्तुष्टि विस्फोट भयो,’ उनले भनेका छन्।
‘आक्रोशलाई समयमा बुझ्न नसक्नु हाम्रो कमजोरी’
थापाले त्यस दिन सडकमा आएका युवा कुनै एउटा सरकारविरुद्ध नाराबाजी गर्न मात्र उपस्थित नभएको बताएका छन्। भ्रष्टाचारमुक्त र जबाफदेही राज्य, सुशासन तथा समान अवसर भएको समाज उनीहरूको स्पष्ट माग रहेको उनको भनाइ छ।
ती माग जायज रहेको र माग पूरा नभएपछि व्यक्त भएको आक्रोश पनि जायज रहेको उनले बताएका छन्। युवाको आक्रोश समयमै बुझ्न नसकिएको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने उनको धारणा छ।
‘आक्रोशलाई हामीले समयमा बुझेनौँ, त्यसको जिम्मेवार हामी हौँ। तर ती मागहरू पूरा गर्ने जिम्मेवारी कसको हो रु हामी सबैको हो,’ थापाले भनेका छन्।
‘त्यो एउटा समूह होइन, सिङ्गो पुस्ताको आवाज थियो’
थापाले भदौ २३ मा सडकमा कुनै एउटा व्यक्ति वा समूह नभई एउटा पुस्ता नै उपस्थित भएको बताएका छन्। त्यस पुस्ताले उठाएको आवाजमाथि कुनै व्यक्ति वा दलले एकल स्वामित्व लिन नसक्ने उनको भनाइ छ।
युवाले उठाएका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सबै पक्षको भएको उल्लेख गर्दै उनले हरेक व्यक्ति र संस्थाले आफ्नो भागमा परेको काम पूरा गर्नुपर्ने बताएका छन्।
‘त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन,’ उनले भनेका छन्, ‘त्यो हामी सबैको जिम्मेवारी हो। हामी सबैको भागमा केही न केही कुरा परेको छ र हामीले आफ्नो ठाउँबाट ती कामहरू पूरा गर्नुपर्नेछ।’
काँग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्ने बाचा
थापाले बदलिएको नेपाली काँग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। भ्रष्टाचारमुक्त, जबाफदेही र सुशासनयुक्त राज्य तथा समान अवसर भएको समाज निर्माणका लागि युवाले दिएको सहादत खेर जान नदिने उनको संकल्प छ।
‘म र तपाईँहरूको मागअनुसार बदलिएको नेपाली काँग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो बाचा हो,’ उनले भनेका छन्, ‘भ्रष्टाचारमुक्त राज्य, जबाफदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादत दिइएको छ, त्यो सहादतलाई हामी खेर जान दिन्नौँ, यो हाम्रो संकल्प हो।’






