भक्तपुर । भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका छन् ।
चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौँको साँखुलगातका क्षेत्रमा साँझ परेको ठुलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ । बस्तीमा पानी पसेपछि स्थानीयवासी लोकन्थलीको हाइटमा पुगेको स्थानीय कमलनाथ प्रसाईँले जानकारी दिए ।
राति ९:०० बजे खोलाको बहाव बढेपछि साइरन बजाइएको थियो । सरकारले मनोहरा सुकुम्वासी बस्ती यसअघि नै हटाएको छ । जडीबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा खोलामा बाढीको बहाव बढेसँगै राति नै प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिए ।
उनले आवश्यक पर्दा उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी दिए । सुरक्षाकर्मी तम्तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले राति १० बजेपछि खोलामा पानीको बहाव क्रमशः कम हुँदै गएको बताए । जोखिम कायम रहेकाले सावधानी अपनाउन प्रहरीले स्थानीय वासीलाई आग्रह गरेको छ ।






