काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले सरकार र प्रहरीबीच द्वन्द्व चलिरहेको भन्दै बिहीबारको डिआईजी सम्मेलन त्यसैको परिणाम भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद चौलागाईंले यस्तो बताएका हुन् । उनले प्रहरीले अपराधिक अनुसन्धामा संलग्न विवरण सार्वजनिक गर्ने र सत्तारुढ दलका सांसदहरु नै प्रहरी प्रशासनविरुद्ध खनिने कुराले दुवै पक्षबीच द्वन्द्व सिर्जना गरेको बताए । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीवार सातै प्रदेशका डिआइजीहरूलाई पनि हेडक्वाटर बोलाएका थिए । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठकका लागि उनले डिआईजीहरुलाई हेडक्वाटर बोलाएका थिए । सांसद चौलागाईंले न्यायपालिकाभित्र रहेको बिचौलिया सञ्जालको निष्पक्ष र गहिरो छानबिन गर्नुपर्ने समेत बताए । उनले न्यायपालिकाको शुद्धीकरणका लागि जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशमाथि अनुसन्धान गर्नुपर्ने बताए । उनले न्यायपालिकाभित्रका अनियमितता ढाकछोप गर्न पछिल्लो समय मिडिया ट्रायल भइरहेको समेत बताए । उहाँले न्यायपालिकामा देखिएको बिचौलिया सञ्जालको विषयमा कठोर निर्णय लिन मंसिर पहिलो साता नै संसद बोलाउनेबारे छलफल भइरहेको समेत बताए।
उनले भने, ‘विचौलियाको खेल जिल्ला अदालतमा पनि छ, विशेष अदालतमा पनि छ । अन्य ठाउँको कुरा भएन न्यायाधीकरणहरूमा पनि छ । सबै तिर खोज्दै जाँदा अदालतहरू खाली हुनसक्ने सम्भावना पनि छ । हरिकृष्ण कार्कीको प्रतिवेदनलाई पनि लिएर छानबिन गर्नुपर्नेछ । प्रकाशमान सिंह राउतको पनि एउटा प्रतिवेदन छ, त्यो पनि हेर्नुपर्ने छ । यो सबै विषयमा क्रमभंगताको आवश्यकता छ । न्यायपालिकामा शुद्धीकरण हुन्छ, त्यसको सुरुवात हामीले गरेका छौँ । आइजीपी सापको विषयमा त्यो चिर्कटो कसले बाहिर ल्यायो ? न्यायपालिकाबाट आएको त होइन । सरकारबाट आएको त होइन । त्यो प्रहरी प्रशासन, सरकारको अन्डरमा भएको प्रहरी प्रशासनबाट आएको हो नि । यसले के देखाउँछ भने सरकार र प्रहरीको बीचम कहीँ न कहीँ कन्फ्लिक्ट भइरहेको छ । हिजोको डिआइजी सम्मेलन पनि पनि त्यसकै रूप हो ।’
सांसद चौलागाईंले न्यायपालिकामा रहेको बिचौलिया नेक्सस प्रकरणमा नेपाल बार एशोसिएशनले छुट्टै समिति गठन गरी छानबिन गर्नुपर्ने समेत बताए ।




