काठमाडौँ । रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।
नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको नेतृत्वमा गएको टोलीले बुधबार अर्थमन्त्री सुशील वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको हो।
विपद्बाट प्रभावित नागरिकको राहत र पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थागत पहलबाट उक्त रकम संकलन गरिएको नेशनल प्याब्सनले जनाएको छ।
संस्थागत रूपमा एक करोड रुपैयाँ सहयोग गरेको नेशनल प्याब्सनले देशभरका आफ्ना सदस्य विद्यालय तथा विभिन्न संस्थामार्फत समेत राहतका लागि करोडौँ रुपैयाँ बराबरको सहयोग जुटाइएको जनाएको छ।
बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुन:स्थापनाका लागि सहयोग गरिरहेको नेशनल प्याब्सनको भनाइ छ।
रसुवा, नुवाकोट र धादिङमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि विभिन्न संघ-संस्था, निजी क्षेत्र र सामाजिक संस्थाले सहयोग गर्दै आएका छन्।






