काठमाडौँ । सरकारले भोटेकोसी-त्रिशूली करिडोर अन्तर्गत बाढी प्रभावित स्थानीय तहमा रोजगारसँग जोडिएको प्रारम्भिक पुनर्लाभ, युवा परिचालन तथा पुनर्स्थापना कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा पुनर्लाभका क्षेत्रमा श्रम, सीप र रोजगारीलाई प्रभावकारी रूपमा जोड्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं युवा महाशाखा प्रमुख हेमराज तामाङको अध्यक्षतामा गठित प्राविधिक समन्वय समिति (टीसीसी) को बैठकमा यस विषयमा छलफल भएको हो। बैठकमा विकास साझेदारहरूको समेत सहभागिता रहेको थियो।
बैठकले विपद्पछि प्रभावित नागरिकलाई तत्काल पुनर्लाभमा सहयोग पुर्याउन द्रुत रोजगार सहायता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा जोड दिएको छ।
कार्यक्रम अन्तर्गत स्थानीय सार्वजनिक निर्माण, क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनर्स्थापना, सरसफाइ र पुनर्निर्माणका काममा प्रभावित नागरिकलाई रोजगारीका अवसर उपलब्ध गराउने तयारी गरिएको छ। साथै, आवश्यकताका आधारमा सीपमूलक तालिम तथा सीप प्रमाणीकरणका अवसरमा समेत विपद् प्रभावित व्यक्ति तथा परिवारलाई प्राथमिकता दिइनेछ।
यसबाट प्रभावित परिवारलाई तत्काल आम्दानीको स्रोत उपलब्ध गराउनुका साथै पुनर्निर्माणका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रलाई केन्द्रमा राखेर रोजगार केन्द्रित पुनर्लाभ रणनीति तथा कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
सरकारले तत्कालको पुनर्लाभसँगै स्थानीयस्तरमा दिगो रोजगारी सिर्जना, युवा परिचालन, सीप विकास, पुनर्निर्माण तथा जीविकोपार्जन पुनर्स्थापनालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको छ।






