खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ ।
गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्य पहाडी लोक मार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु. दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो । जंगलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि चेक जाँच गर्ने क्रममा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा भेटिएको थियो ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको वालिङमा रोकेर राखिएको ट्रकमा उक्त गाँजा भेटिए पनि चालकको भने पहिचान खुल्न सकेको छैन ।चालक फरार रहेकाले गाँजा धनी पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । उक्त ट्रकका धनीलाई भने प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो ।






