काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्।
बिहीबार झापा निर्वाचन क्षेत्र नम्बर १ को बृहत् क्षेत्रीय भेलालाई सम्बोधन गर्दै शर्माले असहमत पक्षलाई खुला हृदयले स्वागत गरिरहेको बताएका हुन्।
‘असहमत पक्षलाई पार्टी कार्यालयको ढोका खुला राखेर मात्र होइन, हृदयको ढोका खुला राखेर स्वागत गरिरहेका छौँ,’ उनले भनेका छन्। भेलालाई सम्बोधन गरेपछि शर्मा सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय पुगेका छन्।
नयाँ पुस्ता काँग्रेसको सबल शक्ति
उपसभापति शर्माले विधानको परिमार्जित व्यवस्थाले वडा तहदेखि केन्द्रीय समितिसम्म स्थापित गर्ने पुस्ता काँग्रेसको भविष्यमा मात्र सीमित नहुने बताए। उक्त पुस्ता पार्टीको सबल शक्तिका रूपमा स्थापित हुने उनको भनाइ थियो।
शर्माले जलवायु परिवर्तनका विषयमा प्रधानमन्त्री बालेन शाहले तथ्यपूर्ण विवरण प्रस्तुत गर्नुपर्ने बताए।
‘संसारभरका साना राष्ट्रहरूको नेतृत्व गर्ने क्षमता प्रस्तुत गरेर हाम्रो सानो देशले ठूला देशहरूसँग कार्बन उत्सर्जन न्यूनीकरणका लागि भरपर्दो संवाद र सहकार्य गर्नुपर्छ,’ उनले भनेका छन्।






