काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँ नगदसहित दुई जनालाई काठमाडौँको अनामनगरबाट नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्साको वीरगञ्ज महानगरपालिका-२१ घर भएका ४० वर्षीय प्रवेश महतो रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार काठमाडौँ महानगरपालिका-२९ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा स्रोत नखुलेको रकमबाट हुन्डी कारोबार भइरहेको सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले भदौ ३१ गते राति करिब साढे ११ बजे दुवै जनालाई नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो।
उनीहरूविरुद्ध हुन्डीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिएका छन्।






