काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
शनिवार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तर संवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तर निर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएकी हुन् । नेपालको आर्थिक अवस्थाबारे धेरै छलफल हुने गरेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा ठूलो रहेको बताइन् । अर्थशास्त्री तथा विज्ञहरूले व्यापार घाटाको समस्या समाधानका लागि अन्तर निर्भर अर्थतन्त्रमा जोड दिने गरेको भए पनि अन्तर निर्भर हुनुअघि आत्मनिर्भर बन्नुपर्ने उनको भनाइ छ । नेपालमा उत्पादन भएका वस्तुको हिस्सा कति छ भन्ने प्रश्न उठाउँदै उनले ठूलो व्यापार कारोबार भए पनि त्यसबाट मुलुकको उत्पादन र अर्थतन्त्रले पर्याप्त लाभ लिन नसकेको बताइन् ।
पूर्व राष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफूले विगतमा ‘नेपालको अर्थतन्त्र खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेको’ टिप्पणी गरेको स्मरण गरिन् । उनले नेपालको आर्थिक तथा राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा कुनै निश्चित शासन व्यवस्थालाई दोष दिनुभन्दा दीर्घकालीन अवधिको समग्र मूल्यांकन गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर मुलुकको आर्थिक तथा सामाजिक अवस्थाबारे बहस गर्नुपर्ने उनको भनाइ छ । ठूला विपद् तथा संकटहरू आइरहने अवस्थामा त्यसको सामना गर्न राष्ट्रिय भावना र राष्ट्रिय एकता आवश्यक रहेको पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।
उनले भनिन, ‘अन्तर निर्भर हुनलाई पनि आत्मनिर्भर हुनुपर्यो । नभएदेखि जम्मा तपाईँको वार्षिक २४ खर्बको वैदेशिक कारोबार हुन्छ, व्यापार हुन्छ भनेर भन्दिनुहुन्छ । जनताले सुन्दा ओहो, यत्रो धेरै हुँदो रहेछ हाम्रो भन्ने हुन्छ । अनि भित्रतिर सबै हेर्दै जाने हो भने फेरि १९ खर्ब जति त व्यापार घाटा नै भइदिन्छ । हाम्रो यी समस्याहरू समाधान गर्नको लागि हामीले अलिकति राष्ट्रिय भावना र राष्ट्रिय एकता विचारमा त्यस्ता एजेन्डाहरू तय गरेर एक ठाउँमा चाहिँ उभिनै पर्छ ।’
उनले राष्ट्रिय समस्या समाधानका लागि साझा एजेण्डा तय गरी सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् ।






