काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि तय गरिएको पार्टी सचिवालय बैठक ३ बजेसम्मका लागि सरेको छ।
एमाले प्रचार प्रमुख नीरज आचार्यका अनुसार कार्यदलको बैठक सम्पन्न भएपछि मात्रै सचिवालय बैठक बस्ने भएकाले समय सारिएको हो। कार्यदलको बैठक बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा जारी छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा कार्यदलमा तीनवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ। कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि थप छलफल र परिमार्जनको प्रक्रिया अघि बढेको थियो।
यसक्रममा अध्यक्ष ओलीको निर्देशनमा बादलले अर्को प्रतिवेदन तयार गरेका थिए। त्यसपछि आज तीनवटै प्रतिवेदनको निष्कर्ष निकाल्ने गरी छलफल अघि बढाउने तयारी गरिएको थियो।
तर, त्यसअघि नै पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समेत छुट्टै प्रतिवेदन पेस गरेपछि कार्यदलमा तीन प्रतिवेदनमाथि छलफल भइरहेको छ।
कार्यदलका एक पदाधिकारीका अनुसार तीनवटै प्रतिवेदनका निष्कर्षलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने विषयमा अहिले छलफल केन्द्रित छ। कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि मात्रै सचिवालय बैठक बस्ने तयारी एमालेले गरेको छ।
यसअघि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक अब ३ बजेका लागि सारिएको प्रचार प्रमुख आचार्यले जानकारी दिएका छन्।






