काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका विपद्का घटनामा मृत्यु तथा बेपत्ता भएका व्यक्तिसँग सम्बन्धित व्यवस्थालाई थप व्यवस्थित गर्न केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ ।
यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ । विधेयकमा विपद्का कारण मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारसँग प्रत्यक्ष जोडिएका विषयलाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्था अनुसार गम्भीर प्रकृतिको विपदबाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, सुरक्षित भण्डारण तथा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई व्यवस्थित गरिनेछ ।
त्यस्तै, विपदमा बेपत्ता भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहतसम्बन्धी व्यवस्था पनि विधेयकमा समेटिएको छ । लामो समयसम्म बेपत्ता भएका व्यक्ति फेला नपरेको अवस्थामा मृत्युको न्यायिक घोषणा गर्ने प्रक्रियासम्बन्धी व्यवस्थासमेत कानुनमा समावेश गर्ने तयारी गरिएको छ । गृह मन्त्रालयले विधेयकको मस्यौदाका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सर्वसाधारणको राय तथा सुझाव माग गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र विधेयकसम्बन्धी सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । इच्छुक व्यक्ति तथा सरोकारवालाले इमेलमार्फत आफ्ना सुझाव पठाउन सक्नेछन् ।
विधेयक पारित भएपछि विपद्का कारण मृत्यु तथा बेपत्ता भएका व्यक्तिको खोजतलास, शव व्यवस्थापन, परिवारलाई राहत तथा कानुनी पहिचानसम्बन्धी प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित गर्ने सरकारको तयारी छ।









