काठमाडौँ । जनकपुरधाममा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक मनाइने दशैँ पर्वलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यले सरोकारवालाहरूबीच वृहत् सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।
महावीर युवा कमिटी र राम युवा कमिटीको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा मन्दिर परिसरमा हुने श्रद्धालुको भीड व्यवस्थापन र पूजाआजालाई सुव्यवस्थित पार्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो । दशैँको अवसरमा जनकपुरको राजदेवी मन्दिरमा बोकावली र पूजाआजाका लागि श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ ।
यस वर्षको चाडपर्वलाई सुरक्षित बनाउन मन्दिर परिसरको सरसफाइ, श्रद्धालुको सहज आवागमन र सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका छन् । छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले धार्मिक परम्पराको संरक्षण गर्दै श्रद्धालुलाई सुरक्षित वातावरण प्रदान गर्न जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वयले मात्रै चाडपर्वलाई सभ्य र व्यवस्थित बनाउन सकिनेमा जोड दिए ।
यसैबीच, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले देशको पछिल्लो आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै चाडपर्वको भव्यता कायम राख्न सरकारी तवरबाट बजेट व्यवस्थापनको आवश्यकता औँल्याए । उनले वर्तमान आर्थिक मन्दीको प्रभाव चाडपर्वमा समेत देखिएकाले यसको व्यवस्थापनमा राज्यको भूमिका महत्त्वपूर्ण हुने बताए ।
छलफलमा सहभागी स्थानीयवासी, धार्मिक अगुवा र युवा प्रतिनिधिहरूले अघिल्ला वर्षका अनुभवबाट पाठ सिक्दै भीड व्यवस्थापनलाई चुनौतीपूर्ण कार्यका रूपमा लिएको र त्यसको पूर्व तयारी अहिले नै गर्नुपर्ने धारणा राखेका थिए ।






