काठमाडौँ। दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुमा छुटसहित बिक्री थालेपछि बिक्री केन्द्रमा ग्राहकको चाप बढेको छ।
कर्पोरेसनले नेपाल सरकारको निर्देशन अनुसार केही वस्तुमा छुट दिएको छ भने अन्य वस्तुको मूल्य आफ्नै तर्फबाट घटाएर बिक्री गरिरहेको जनाएको छ।
साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाका अनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिइएको छ। छुटपछि काठमाडौँ उपत्यकामा चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै दाल, तेल, चिउरा र मैदामा सरकारको निर्देशनअनुसार प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको झाले जानकारी दिए।
सरकारले छुट तोकेका वस्तुबाहेक कर्पोरेसनका बिक्री केन्द्रबाट बिक्री हुने अन्य वस्तुको मूल्यमा समेत कमी गरिएको छ। चामलमा प्रतिबोरासम्म ५० रुपैयाँ र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिइएको कर्पोरेसनले जनाएको छ।
मसला, बिस्कुटलगायत अन्य वस्तुमा पनि उपलब्ध छुटअनुसार मूल्य समायोजन गरिएको छ। नेसनल ब्रान्डका बिस्कुटमा उत्पादकबाट प्राप्त छुट उपभोक्तालाई नै उपलब्ध गराइएको झाले बताए।
चाडपर्वको समयमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज र तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यमा बिक्रीलाई निरन्तरता दिइएको कर्पोरेसनले जनाएको छ।
सार्वजनिक–निजी साझेदारीको अवधारणामा सञ्चालित साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्व लक्षित सुपथ मूल्य बिक्री सञ्चालन गर्दै आएको छ। कर्पोरेसनका अनुसार देशभर एक सयभन्दा बढी स्थानबाट उपभोक्तालाई सेवा दिइँदै आएको छ।
छुटसहितको बिक्रीबाट उपभोक्ताको सकारात्मक प्रतिक्रिया पाएको र बिक्री केन्द्रमा ग्राहकको चाप बढेको सहायक प्रमुख कार्यकारी अधिकृत झाले बताए।



