काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत अनुचित व्यापारिक क्रियाकलाप गरेको ठहर गर्दै विभागले कर्पोरेशनमाथि उक्त जरिवाना गरेको हो।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम कसुर गरेको देखिएपछि काठमाडौँ महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनलाई कारबाही गरिएको हो। उक्त दफामा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएबापत कारबाही हुने व्यवस्था छ।
विभागले कर्पोरेशनका प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै जरिवानाबापतको रकम दाखिला गर्न निर्देशन दिएको छ।
विभागको निर्देशन अनुसार आदेश प्राप्त भएको मितिले सात दिनभित्र तीन लाख रुपैयाँ राजस्व शीर्षक नम्बर १४३१२ मा दाखिला गर्नुपर्नेछ। रकम दाखिला गरेपछि बैंक भौचरको दोस्रो प्रति विभागमा पेश गर्नसमेत कर्पोरेशनलाई भनिएको छ।
उपभोक्ता अधिकार संरक्षण तथा बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्ने क्रममा विभागले उक्त कारबाही गरेको हो।



