काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी)अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।
अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहेका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताए।
उनले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनले विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गरे ।
जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गरे।
सभामुख अर्यालले नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्त्वपूर्ण आधार भएको बताए। उनले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे ।
भेटका क्रममा अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गरेको सचिवालयले जनाएको छ ।



