काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवाको आधुनिकीकरण र विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री, छिटो, भरपर्दो, प्रतिस्पर्धी तथा सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
१५२औँ विश्व हुलाक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले बदलिँदो प्रविधि र सेवाग्राहीको अपेक्षालाई सम्बोधन गर्न हुलाक पूर्वाधारको सुदृढीकरण, डिजिटल प्रविधिको प्रयोग तथा सेवा विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
मन्त्री तिमिल्सिनाका अनुसार स्मार्ट हुलाक सेवामार्फत सरकारी कुरियर सेवाको प्रभावकारी कार्यान्वयन, आधुनिक डाँक ढुवानी तथा वितरण प्रणाली, पार्सल तथा द्रुत डाँक सेवा (ईएमएस) को विस्तार र विद्युतीय व्यापारसँग हुलाक सेवाको आबद्धतालाई सरकारले प्राथमिकता दिएको छ।
उनले तीनै तहका सरकारबीचको समन्वय र सहकार्यबाट हुलाक सेवालाई नागरिकको आफ्नै सेवाका रूपमा थप सुदृढ र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको विश्व हुलाक संघले १५१ वर्ष पूरा गरी १५२औँ वर्षमा प्रवेश गरेको अवसरमा यस वर्ष ‘एक हुलाक सञ्जाल, असीमित सम्भावना’ भन्ने मूल नाराका साथ विश्व हुलाक दिवस मनाइँदै छ।
नेपालमा विक्रम संवत् १९३५ मा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा प्रारम्भ भएको थियो। नेपालले सन् १९५६ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेदेखि अन्तर्राष्ट्रिय हुलाक सञ्जालमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
नेपाल हुलाकले विश्व हुलाक संघ तथा एसिया–प्रशान्त हुलाक संघलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थासँगको सहकार्यमा सर्वव्यापी सेवा दायित्वअनुरूप सेवा प्रवाह गर्दै आएको मन्त्री तिमिल्सिनाले उल्लेख गरेका छन्।
उनले एकीकृत विश्वव्यापी हुलाक सञ्जालमार्फत देश, समुदाय र नागरिकबीचको सेवा प्रवाहलाई थप सहज, सरल र प्रभावकारी बनाउन विश्व हुलाक दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
मन्त्री तिमिल्सिनाले असोज २३ गते शुक्रबार मनाइने १५२औँ विश्व हुलाक दिवसका अवसरमा सम्पूर्ण हुलाककर्मी, सेवाग्राही, शुभेच्छुक तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेका छन्।



